चक्र गुरुङ, खाँदबारी ५, संखुवासभा
(हाम्रो रोधीं, बर्ष ९, अंक १९)
२०११ सालमा स्थापना भएको गुरुङ कल्याणकारी संघलाई गुरुङ समुदायको पहिलो औपचारिक संस्था मानिन्छ । यसपछि मात्र विभिन्न गुरुङ संघ-संस्थाहरु जन्मिएको हो । विशेष गरि २०४६ सालमा प्रजातन्त्र पुनर्बहाली भएपछी संघ-संस्था खोल्न पाउने व्यवस्था भयो र धेरै संस्थाहरु स्थापना भए । हाम्रो जाति भित्र पनि सामाजिक तथा सामुदायिक बिकाशका पक्ष, धार्मिक पक्ष, शैक्षिक पक्ष आदिका समग्र तथा विषयगत पक्षहरु उद्देश्य बनेर संघ संस्थाहरु खोलिएका छन् । पछिल्लो चरणमा राजनीतिक आस्थाका कारण पनि गुरुङ समुदायमा संगठन निर्माण गरेका छन् । तमू लोकतान्त्रिक संघ, तमू मुक्ति मोर्चा, लगायत यसका उदाहरणहरु हुन् । यो प्रक्रियालाई आधार मान्ने हो भने आगामी दिनहरुमा घट्ने विभिन्न घटनाक्रम, अवस्था र आस्थाको आधारमा पनि अन्य प्रकारका संघ संस्थाहरु स्थापना हुने देखिन्छ ।
जनसंख्या र जनघनत्वको आधारमा काठमाडौमा बढी नै मनिसहरु बसोबश गर्छन । पूर्बदेखि पश्चिमसम्मका सबै गाउँ, ठाउँ, र जिल्लाहरुबाट शिक्षा, स्वास्थ्य र रोजगरिको अबसरहरु खोज्दै काठमाडौ पसेका छन् । तिनै मानिसहरुको भिडमा गुरुङहरुको जनसंख्या पनि बढीरहेको विभिन्न तथ्यांकहरुले देखाउछ । गण्डक प्रदेश गुरुङहरुको मूल थलोको रुपमा मानिएपनि मुलुकको सबै भू-भागहरुमा छरिएर रहेका छन् । काठमाडौमा गुरुङ्गहरुको जनसंख्या बृध्दिसंगै संघ-संथाहरुको संख्यामा पनि बृध्दि भएको देखिन्छ । विशेष गरि माओबादी द्वान्दको उच्चतम समयमा ह्वात्तै बृध्दि भएको पाइन्छ ।कुनै गाउँको, कुनै जिल्लाको, कुनै थरको, कुनै पेशाको, कुनै धर्मको, कुनै बर्गको नामबाट संस्थाको नामाकरण भएको छ । त्यसो त राजधानी बाहिर गुरुङहरुको बाहुल्यता भएको पोखरा शहरमा पनि उत्तिकै मात्रामा संस्थाहरुको बृध्दि भएको थियो, छन् ।तमू धिं जस्ता बलिया संस्थाहरु अहिले पनि पोखरामा जरा गाडेर बसेको छ । अन्य जिल्लाहरुमा पनि स्वतन्त्र तथा जिल्ला शाखाहरुको रुपमा संस्थाहरु रहेका थिए, छन् । संस्था निर्माण र तिनको संख्यात्मक बृध्दि संगै थप समस्याहरु पनि सिर्जना हुदै गए । संघ-संथाहरु भित्र पनि ठुलो र सानो, सक्तिशाली र कम बलशाली जस्ता आरोप-प्रत्यरोपहरु चल्न थाले । यो एउटा बिकराल समस्या बन्दै गयो ।यसै समयमा स्वतन्त्र संस्थाहरुलाई एकताबध्द गर्ने उद्देश्यले २०५७ सालमा तमू समन्वय परिषद्को स्थापना भयो । पछि यसको नामकरण तमू राष्ट्रिय परिषद हुन गयो । त्यसो त तमू छोंज धींले आफ्नो संगठन मुलुकभर छरिएर रहेकाले आफु शक्तिशाली भएको दाबी गरिरह्यो, आफु कसै संग आबध्द हुन गएन । बरु आफुसंग मिसिन आउनु पर्ने अडान राख्यो । यी दुइ बिचको ठुलो टकराबले गुरुङ समुदाय र जातीय बिकाशमा नकारात्मक भूमिका निर्वाह गर्यो । शक्ति टकराब त थियो नै त्यो संगै गुरुङ भित्र पनि सानो जात र ठुलो जातको विभेद, पुर्बेली र पश्चिमेली गुरुङको बिभेद पनि यथावत थियो । जसले जातीय मुद्दा ओझेलमा परेको थियो ।
सतही रुपमा अध्ययन गर्दा परिषद, बिध्यावारिधि गरेका विद्वान बर्गको नेतृत्व थियो भने छोंज धिंमा पैसा भएका व्यक्तिहरुको बाहुल्यता थियो । यसरि हेर्दा यी दुबैको एकता बिना जातीय उत्थान सम्भब थिएन र अन्तत: गुरुङ संस्थाहरु बीच एकता भयो पनि । अझै पनि केहि संथाहरु अलग्गै छन् । तिनलाई समेट्नु अहिलेको नेतृत्वको चुनौती बनेको छ । यी माथिका त संस्थागत रुप भए, तर गुरुङ समुदायमा ति संस्थाहरुले गरेको कार्यहरु कतिको सान्दर्भिक र प्रभाबकारी छन् भन्ने महत्वपुर्ण हुन आउछ । यो लेख लेख्दै गरेको समयमा तमू ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्को नेतृत्व युवा पंक्तिमा आइसकेको छ । गोर्खाका रेशम गुरुङ हरेक कुरामा निकै चतुर र बाठा छन् , उनैले गत माघमा भएको झापाको बिर्तामोडको अधिबेशन पछि नेतृत्व लिएका छन् । उहाँको नेतृत्वसम्म आइपुग्दा संस्थागत रुपमा जति बिकाश भएको छ त्यहि अनुपातमा गुरुङ समुदायको बिकाश हुन सकेको देखिदैन । यसो हुनुमा समुदाय भित्रको समस्या पहिचान गर्न नसक्नु नै नेतृत्वको मुख्य कमजोरी हो ।
हामी भित्र धार्मिक समस्या छ, कोहि हाम्रो धर्म बौध्द हो भन्छन, कोहि बोन धर्म हो भन्छन, अझ भनौ हिन्दु हाम्रो धर्म हो भन्ने गुरुङ हरुको संख्या पनि कम छैन । कतिले बोन धर्म हो कि संस्कार हो बुझेको छैनन् ।त्यसो त भाषामा उत्तिकै समस्या देखिन्छ ।गोर्खा र स्यांजाका गुरुङहरु बीच बोलिने भाषामा एकरुपता पाइदैन । भाषा जस्तो संबेदनशील कुरामा एकरुपता नहुने हो भने भाषामा पछि रहेका तर सिक्न खोजिरहेको गुरुङहरुले कुन क्षेत्रको भाषालाई अंगिकार गर्ने ? यो एउटा जटिल प्रश्न हुन आउछ । यो विषयमा छाता संगठन दाबी गरिएको परिषदले पनि स्पस्ट पर्न सकेको जस्तो लाग्दैन ।
कर्म काण्डको अर्को थप समस्या रहेको छ ।लामाले स्थान अनुसार फरक-फरक ढंगले कर्मकाण्ड गरेको पाइन्छ सार एउटै हुन सक्छ तर हेर्दा फरक प्रकृतिको संस्कारले गुरुङ भित्र संस्कारगत एकता नभएको हो कि भन्ने हुन जान्छ । भेषभुषाको सवालमा त अरुले नै खोसिसक्यो भन्दा पनि फरक नपर्ला किनकि हाम्रा दिदि बहिनीहरुले लगाउने पोशाक दोहोरी गायिकाको पहिचान पोशाक हो भन्ने भ्रम भैसक्यो जसले गर्दा हाम्री चेली बेटीले उक्त पोशाक लगाएर गर्ब गर्दै हिड्ने दिन गइ सके ।यस्ता भ्रम तोड्न नसक्ने हो भने हाम्रो भाषा पनि कहिँ कतै शेर्पा, तामांग लगायतको भाषा संग मेल खान गई उनीहरुले यो हाम्रो भाषा हो भनेर दाबी गरे हामी चुप लागेर बस्नु पर्ने दिन नआउला भन्न सकिन्न । आखिर यी त गुरुङ समुदायमा भएका केहि समस्याका पोकाहरु हुन् । यस्ता पोकाहरु धेरै छन् । यस्ता समस्याहरु बेलैमा पहिचान गरि कार्यक्रम नल्याउने हो भने गुरुङ संघ-संस्थाहरुको बिश्वनियता र प्रभावकरिता रहन सक्दैन ।
पछिलो समयमा संघ-संस्थाहरु भित्र जातीय मुद्दा, पहिचानको मुद्दा र तिनको समुदायको बिकाशलाई पाखा लगाएर राजनीतिक नाराहरुलाई बढी प्राथमिकता दिएको देखिन्छ । राजनैतिक दलहरुको हस्तक्षेपकारी अबस्थाले दलिय स्वार्थ पुरा गर्ने थलोको रुपमा पनि संघ-संस्थाहरु बिकाश भएको देखिन्छ । अर्को तिर राजनीतिक हस्तक्षेप कम भएको संघ-संस्थाहरुमा एनजीओबादिहरुको हावी रहेको छ । व्यक्ति कमाउँ नीति अंगिकार गरेका यस्ता संस्थाहरु समुदायको बिकाश भन्दा व्यक्तिगत स्वार्थ पुरा गराउन अगाडी देखिन्छ । जबसम्म संस्थालाई तथस्ट विद्वानले नेतृत्व गर्ने, राजनीतिक दलका नेताहरुले सल्लाह र सहयोग गर्ने, शिक्षक, बिद्यार्थी, वकिल, चिकित्सक, ब्यापारी, तथा पैसावालहरुले निस्वार्थ सहयोग गर्ने बाताबरण बन्दैन तबसम्म जातीय उत्थान सम्भब छैन । त्यसो त सबै संघ-संथाहरुको काम नकारात्मक मात्र छ भन्ने पनि मेरो आसय होइन ।केहि धार्मिक संस्थाहरुले तिनको काम गरिरहेको छन्, सामाजिक संस्थाहरुले पनि काम गरिराखेका छन् तर त्यतिले मात्र पर्याप्त भएन भन्ने मेरो बुझाई हो । छाता संगठन दाबी गरिएको परिषद्को भूमिका कम भयो भन्ने मेरो निस्कर्ष हो ।त्यसैले उपयुक्त समयमा उपयुक्त कार्यक्रम ल्याई गुरुङ समुदायको बिकाश गर्दै संघ-संस्था प्रति बिश्वास र प्रभाव जमाउन जरुरि देखिन्छ।