तमूको दोस्रो महाधिवेशन : एकतामा तिक्तता

एकता र सहमति आफैमा सहज छैन । यी दुवै सकारात्मक प्रयासमा मात्र सम्भव हुन्छ । एकता महाधिवेसनको नाम दिइएको तमूहरुको दोस्रो महाधिवेसनले भने न त एकताको सन्देश दिन सक्यो, न त सहमतिकै । दुवै सवाल सहज बन्न सकेन । त्यस कारण पनि तमू ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदको दोस्रो महाधिवेशन विवादमुक्त हुन सकेन । विवादबीच भएको महाधिवेशनले तमूहरुबीचको एकता होइन, तिक्तता थपिएको प्रष्ट महशुस गरिएको छ । झापाको विर्तामोडमा माघ २० देखी २२ गतेसम्म भएको दोस्रो महाधिवेशनले तमूबीचको एकतालाई थप मजवुद बन्ने अपेक्षा अन्ततः सफल हुन सकेन । एकतालाई कायम राख्दै आगामी दिनका लागि दिने तमू एकताको सन्देश विर्तामोड महाधिवेशनले सशक्त बनाउन सकेन । अझ विगतमा भएका गल्ती कमी कमजोरी र अपारदर्शितालाई थप संस्थागत गर्न मद्दत मिलेको प्रष्ट भएको छ ।

उदघाटन भाषणमा मनपरी

तमू ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदको दोस्रो महाधिवेसनको उद्घाटनसभा बिर्तामोडको कन्काई उमाविको प्रांगणमा सुरु भयो । हजारौं तमूहरुको सहभागितामा भएको ¥यालीपछि भएको सभामा अटाई–नअटाई थियो । कार्यक्रमको सुरुमा उपमहासचिव नरेन्द्रकुमार गुरुङले आसन ग्रहण गराएका थिए । प्रमुख अतिथि गृहमन्त्री विजयकुमार गच्छदार आउने सुइँको पाएपछि महासचिव रेशम गुरुङलाई माइक हस्तान्तरण गरेका थिए । उनले छुटेको नाम भन्दै भटाभट आसन ग्रहण गराए । कसलाई आसन ग्रहण गराउने भन्ने पूर्वतयारी देखिएन । खुसुखुसु लिस्ट दिँदै आसन ग्रहण गराइरहेका थिए । मञ्चमा आसन ग्रहण गरिरहेकाहरु कोही मलाई ढिला बोलायो, कोही मेरो त नाम नै विगारिदिए भन्दै गुनासा गरिरहेका थिए । मञ्चको बनावट शैली र साजसज्जा राम्रो भएपनि आसन ग्रहण र मन्तव्य राख्न दिने क्रम भने अत्यन्त अव्यवस्थित देखिन्थ्यो । ‘कसलाई बोल्न दिने भन्ने कुनै निर्णय नै भएको छैन’ आयोजक एक सदस्य भन्दै थिए, ‘महासचिवलाई जे मन लाग्यो त्यही गरिरहेका छन् ।’

 

कार्यक्रममा बोल्नेहरुबीच विभेद गरेको भन्दै गुनासा गर्नेहरु पनि थिए । वक्ताले भन्दा पनि उदघोषक बढी भाषण गरेको भन्नेहरु पनि नभएका होइनन् । कार्यक्रममा अतिथि भनेर बोलाएर बोल्न नपाएको भन्नेहरु पनि थिए । तमू धिँ कास्कीका महासचिव देवीजंग गुरुङले बोल्न नपाएको गुनासो गरिरहेका थिए । उनले बोल्न पाउँ भन्दै चिट पनि महासचिव रेशमलाई दिएका थिए । उनले शुभकामना मन्तव्य राख्न पाएनन् । जबकि तमू धिँ कास्की अहिलेसम्म तमू ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदमा आवद्ध नभएको संस्था हो, कार्यक्रममा सहभागी हुँदा बोल्न दिँदा राम्रै सन्देश जाने थियो । तमू धिँसँग एकताका लागि प्रयासलाई यस्ता गतिविधिले पनि बाधा गर्छ भन्दै थिए सहभागीहरु । बोल्न नपाएपछि देवीजंग मन कुँड्याउँदै २१ गते बिहान नै पोखरा हिडेका थिए, बन्दसत्रमा बसेनन् । तर, भातृसंगठन विद्यार्थीको तर्फबाट उपाध्यक्ष र तमूस्यो ह्युला महिला छोंज धिंका अध्यक्ष हरिमाया गुरुङलाई भने शुभकामना मन्तव्य राख्न दिएका थिए । जुन आवश्यकताभित्र नपर्ने कुरा हो ।

 

प्रमुख अतिथिलाई खुइल्याउन खोज्दा

प्रमुख अतिथि ११ बजे विर्तामोड पुगेका थिए । हेटौंडामा हुने सत्तापक्षीय दल एमाओवादीको सातौं महाधिवेसन उद्घाटनमा शुभकामना दिन छाडेर उनी तमूको महाधिवेसनलाई सम्वोधन गर्न भनेर बिर्तामोड पुगेका थिए । कार्यक्रम स्थलमा पुगेर उनी तमूको महाधिवेशनमा करिव सातघण्टा बसेका थिए । कार्यक्रममा पुगेका गृहमन्त्री गच्छदारले बोल्नुअघि महासचिव रेशमले ल्होछार मनाउने विदा बढाएर तीन दिन बनाउनुपर्ने, भवन बनाउन पैसा दिनुपर्ने माग राखेका थिए । तर, गच्छदारले उनले राखेको मागभन्दा पनि अधिकारमुखी मागलाई बढी सम्बोधन गरे । संघीयता, तमूवानका लागि लडिरहेको गुरुङहरुप्रति एक्येवद्धता जनाउन आफू सत्तापक्षको महाधिवेशनलाई छाडेर आएको बताए । उनले भाषण गर्ने बेलामा अँध्यारो भएकाले घरी फोनको लाइट र घरी बल्व बालेर भाषण सकियो । तत्काल महासचिव रेशमले सदनमा विपक्षीले झम्टिएझैं गरेर आफ्ना माग सम्वोधन नगरेको बताए । रेशमको आक्रोसपूर्ण टोकेसोले आफू दुःखित भएको भन्दै कार्यक्रमबाट गच्छदार बाहिरिएका थिए । होटल पुगेपछि गच्छदारले आफ्नो अपमान भएको भन्दै सहयोगीहरुसित कुराकानी गरेका थिए । उनीमाथि परेको भावनात्मक चोटलाई केही मल्हम लगाउने काम भने भोलिपल्ट सुरु भएको वन्दसत्रमा रेशमले माफी मागेका थिए ।

 

यसपटक संयोग नै भन्नुपर्छ, सुरक्षा निकायका दुईजना पूर्वप्रमुखले पनि बोल्ने मौका पाए । नेपाली सेनाका पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङले गुरुङहरु इमान्दार बन्नुपर्छ भनेर राम्ररी व्यंग्य गरे । संस्थामा भएको अपारदर्शितालाई राम्ररी बुझेका उनले गरेको व्यंग्य कमैले बुझे होलान । त्यसो त नेपाल प्रहरीका पूर्वमहानिरीक्षक हेमबहादुर गुरुङले पनि निकै राम्रा सवालहरु उठाए । तमूलाई राम्रो मान्छे चाहिएको बताए । समाजमा हुने हाम्रो र चाम्रो मानिसको जरुरत नभएको प्रष्ट्याए । आफ्ना पूर्वहाकिमको भाषण सुनिरहेका सुरक्षामा खटिएका प्रहरीका अधिकृतहरु भने सुडान काण्ड सर्वोच्चमै विचाराधिन रहेको अवस्थामा किन भाषण गरिरहेका होलान भन्दै थिए ।

 

वन्दसत्रमा विरोध

विर्तामोडस्थित मारवाहीहरुको सक्रियतामा बनेको अग्रसेन भवनमा बन्दसत्र माघ २१ गते सुरु भयो । सुरुमा भटाभट अध्यक्ष मण्डल र निर्वाचन समिति घोषणा गरियो । कसैले पनि विरोध गरेनन्, जबकि हलमा पुगेकाहरु कमै मात्रलाई अध्यक्ष मण्डल र निर्वाचन समिति हलले अनुमोदन गर्नुपर्छ भन्ने थाहा थियो होला । महासचिव रेशमले पारित गरिदिन आग्रह गरे । ताली परर्र बज्यो । अध्यक्ष मण्डलले महासचिवको प्रतिवेदन पेश गर्न भन्यो, तर प्रतिवेदन आइपुगेको थिएन । कोषाध्यक्ष गोलमानलाई प्रतिवेदन पेश गर्न लगायो । उनले प्रतिवेदन बाचन गरे । सोझो पाराले उनले कतिपय कुरा थाहा नभएको भन्दै जेनतेनले पढे । युरोपियन युनियनले दिएको अनुदान रकम एक करोड ५९ लाख रकम त आफूले केही पनि थाहा नभएको पनि बताउन छुटेनन् । युरोपियन युनियनको छुट्टै अडिट रिपोर्ट पढेका थिए अनकनाउँदै । युरोपियन युनियनको रकम संस्थामा नआएको भन्दै आफूलाई केही थाहा नभएको पनि बताउन उनी चुकेनन् ।

 

वन्दसत्रमा सामूहिक रुपमा कुरा राख्ने काम भएन । क्षेत्र÷क्षेत्रलाई विभाजन गरेर टीम लिडर बनाई प्रस्तुत गर्न लगाएका थिए । टीम लिटरहरुले संस्थामा युरोपियन युनियनबाट आएको रकमबारे आफूहरुलाई थाहा नभएको, आइएलओ १६९ तथा युएनड्रीपले प्रत्याभूत गरेको पूर्वसुसूचित अधिकारबाट आफ्नै संस्थाले बर्जित गरेको, खर्च व्यवस्थित र अपारदर्शी भएकाले छुट्टै छानविन समिति बनाउन माग गरेको थियो । अपारदर्शी र अव्यवस्थित ढंगले संस्था अघि बढेको आरोप पनि सहभागीहरुको थियो । कोषाध्यक्ष आनन्द घलेले संस्था अपारदर्शी भयो भन्दै उठाएको आवाजको सम्वोधन गर्नुको सट्टा उनलाई कर्नरमा पारेर पेल्ने काम गरेकोमा घलेलाई न्याय नभएको सहभागीहरुको आक्रोस थियो । मिलापत्र गरेको भनिएपनि आनन्द घलेलाई कोषाध्यक्षको रुपमा नउभ्याएको भन्दै केही सहभागीहरुले घलेमाथि अन्याय गर्न नहुने बताएका थिए । तमूको हकहितका लागि खुलेको संस्थाले तमूलाई नै पीडित बनाउन नहुने आवाज पनि सुनिएको थियो ।

 

सहभागीहरुको उत्तर दिने क्रममा कोषाध्यक्ष गोलमान गुरुङले सहभागीहरुले उठाएको र गरेको प्रश्न सबै ठीकै हो भन्दै गल्ती र अपारदर्शी भएको कुरालाई स्वीकार गरेका थिए । उनले ‘यो पनि ठीकै हो, त्यो पनि ठीकै हो’ भन्दै मायालु लवजमा गल्ती स्वीकारेपछि उनको प्रतिवेदन पास गर्न अध्यक्ष मण्डलले आग्रह गरेको थियो । केही व्यक्तिले मात्र ताली पिटेपछि, तीनपटकसम्म पास गरिदिन आग्रह गरिएको थियो । तर, छानविन समिति गठन हुनुपर्ने कुराको भने खास सुनुवाई भएन । बरु उल्टै गोलमानले आफू अब कहिल्यै यो संस्थाको कोषाध्यक्ष हुन्न भनेर भाषण गरेका थिए ।

अब पालो आयो, महासचिवको प्रतिवेदनको । महासचिवको प्रतिवेदन करिव सयजनाले मात्र पाए । लोडसेडिङको समस्या भन्दै उनले भाषण मात्र गरे । शव्दजाल राम्ररी बुन्न जान्ने महासचिव रेशमको प्रतिवेदन दिशाहीन भएको भन्दै सहभागीहरुले टिप्पणी गरेका थिए । संस्थाका अध्यक्ष डा. गणेशमान गुरुङले संस्थालाई गरेको बेवास्ताप्रति महासचिवको प्रतिवेदन केही नबोलेको भन्दै सहभागीहरु आक्रोसित थिए । अध्यक्ष गणेशमान कार्यक्रममा सहभागी समेत थिएनन् । आनन्द घलेसँग मिलापत्र भएपनि प्रतिवेदनमा पदमुक्त गरिएको उल्लेख थियो । उनले मिलापत्र भएकोले सो कुराको उल्लेख नगर्ने बताएका थिए । राति अबेर भइसकेकाले उनको प्रतिवेदन पास भएको थियो ।

 

सहमतिको सकस

महाधिवेसनको तेस्रो दिन नयाँ नेतृत्व चयन गर्नु थियो । उम्मेदवारी दर्ता सुरु भयो । अध्यक्षका लागि डा. शेखर, रेशम, चन्द्रकला र विनोद गुरुङले उम्मेदवारी दर्ता गरे । सहमति नहुने भएपछि डा. शेखर र चन्द्रकलाले उम्मेदवारी फिर्ता लिए । रेशम र विनोदबीच चुनाव हुने पक्का भयो । तर डा. ओम, खगेन्द्र, तारामान गुरुङहरुको सक्रियतामा सहमतिको प्रयास भयो ।सहमतिका लागि विनोदले रेशमलाई छाड्ने पक्कापक्की भयो । तर विनोदले महासचिव आफ्नो प्यानलले पाउनुपर्ने बताएका थिए । बुढापाकाहरुका अगाडि रेशमले हुन्छ भनेका थिए । फिर्ता लिने सहमतिअनुरुप हलमा आएर विनोदले शर्तसहितको मन्तव्य राखे । रेशमले आफूले कुनै शर्त नमान्ने बताएपछि बुढापाकाहरु अलमल्ल परे । केहीबेर हलमा सन्नाटा छायो । सहमति हुने भो भनेर बसेका प्रतिनिधिहरु अलमल परिरहेका देखिन्थे । अन्ततः चुनाव नै हुने भयो । राति अबेर चुनाव सुरु भयो ।

 

फर्जी मतदाता ः नक्कली चुनाव ?

सामान्यतः चुनाव गराउने भनेपछि मतदाता नामावली सार्वजनिक गर्नुपर्छ । नाम सच्याउने दावी विरोधको मौका दिइन्छ । उम्मेदवारको नामावली दर्ता र सच्चाउने तथा दावी विरोधको समय दिइन्छ । तर हाम्रो महाधिवेसनमा त्यस्तो केही भएन । जुन काम अव्यवहारिक मात्र नभई गैरकानुनी पनि हो । तर अध्यक्ष मण्डलमा हाम्रा दुई तमू कानुन व्यवसायीहरु पनि थिए । उम्मेदवारहरुले पनि विरोध नगरेपछि मतदान सुरु भयो । मतदान भइरहँदा फर्जी मतदाता पनि भेटिए । कोही कार्डमा टिपेक्स लगाएर आएको देखिन्थ्यो त कोही व्यवस्थापनको कार्डमा भोट हाल्न आएका थिए । तर अध्यक्ष मण्डलले व्यवस्थापनको कार्डमा पनि भोट हाल्न दिने भनेपछि उम्मेदवारका प्रतिनिधिहरुले केहीबेर विरोध गर्दै तनाव पनि सिर्जना गरेका थिए । कोही आफूले दुईवटा व्यालेटमा भोट हालेको भन्दै हिडिरहेका थिए । कोही प्रतिनिधिको कार्ड पाएर पनि मतदाता नामावलीमा नाम नभएको भन्दै थिए । यी केही नमुना परिवेश हेर्दा लाग्थ्यो, चुनाव नै नक्कली हो कि ? रातभर मतदान र मतगणना भएको थियो । प्रतिनिधि तथा पर्यवेक्षक भने बस्ने स्थानको अभावमा बिजोग थियो । माघ २३ गते विहान मात्र मत परिणाम आयो । रेशम गुरुङ अध्यक्ष भए ।

 

रिमोट कन्ट्रोलको करकर

नेपालको सरकार भारत या अमेरिकाको रिमोट कन्ट्रोलले चलाउँछन् भन्छन् । गुरुङहरु पनि रिमोट कन्ट्रोलबाट परिचालित रहेछ भन्ने कुरा यो महाधिवेशनले थप पुष्टि गरिदियो । रिमोट कन्ट्रोल अरु कोही नभएर यहाँका दलहरु नै हुन् । कोही कांग्रेस त कोही एमाले अनि कोही माओवादी त कोही समाजवादी रिमोट कन्ट्रोलबाट सञ्चालित थियो । कोही संघीयताविरोधी रिमोट कन्ट्रोलबाट सञ्चालित थियो । यति विचित्र कि भएको सहमति पनि केहीबेरमै लथालिङ्ग हुने स्थिति समेत रिमोट कन्ट्रोलकै कारण भएको थियो । एमाले, कांग्रेस र समाजवादीका केन्द्रीय केही नेताहरु त कार्यक्रम स्थलमै पुगेर आफ्नो पक्षमा पार्न दौडधुप गरिरहेका देखिन्थे । अन्ततः कांग्रेस र एमाले रिमोट कन्ट्रोलले यसपटक नियन्त्रण जमाउन सफल बन्यो ।

 

लाहुरेको करिम

तमू राजनीतिमा लाहुरेको योगदानलाई कम आँकियो भने त्यो ठूलो भुल हुनेछ । लाहुरेको आर्थिक मात्र होइन, रचनात्मक योगदानले तमूहरुबीच एकता हुने र संगठन खोल्ने क्रम बढेको छ । दुःख पर्दा लाहुरे नै हो सम्झिने । हरेक किसिमका सहयोग लाहुरेबाट नै हुँदै आएको छ । यसपटकको चुनावमा पनि अध्यक्षमा एकजना लाहुरेको उम्मेदवारी आउने पक्कापक्की थियो । उनी थिए– दुःखका बेलामा संस्थामा कार्यवाहकको जिम्मेवारी सम्हालेका कुम्भराज गुरुङ । अन्ततः उनी चुनावमा अध्यक्षको उम्मेदवार बन्न समेत पाएनन, सकेनन् । भएछ के भने २१ गते राति साढे ३ बजेसम्म होटलमा बसेर सोझो लाहुरेलाई कांग्रेस र एमालेका नेताले पेलेछन् । त्यसपछि कुम्भराजले पेलान सहन सकेन, रेशमलाई अध्यक्षमा छाडेर उनी खुम्चिएको अनुहार लिएर अग्रसेन भवनमा आफ्ना शुभचिन्तकसित आफूलाई धोका भएको भन्दै हिडेका थिए । कहिले मामा त कहिले दाई भन्दै आफूबाट भरमग्दुर सहयोग लिएर अन्तिममा नेतृत्व गर्नबाट बञ्चित गरिएकोमा आफ्नै संस्थाका साथीहरुसित पनि उनी आक्रोसित देखिन्थे । यसअघि पनि तमू छोंज धिँमा क्या. एकनारायण गुरुङ यस्तै पेलानमा परेपछि सामाजिक संस्थाहरुबाट बाहिरिएका थिए । अहिले क्या. एकनारायण लण्डनको चिसोमा छन् । कतै बहिष्करणमा परेका कुम्भराजले त्यस्तो कदम नचाल्ला ? भनेर सहभागीहरु प्रश्न गरिरहेका थिए । यस्तै छ लाहुरेको करिम ।

निरस घोषणासभा

गुरुङहरुबीच पहिलोपटक चुनावी अभ्यास गरिएको थियो । चुनावबाट कसैले जिते, कसैले हारे । यसअघिसम्म सबैले जित्ने राजनीति तमूहरुबीच हुन्थ्यो । तर यसपटकको महाधिवेसन अन्ततः चुनावी मैदानमा होमियो । सहमतिबाट परिणाम आएको भए कति भव्य हुन्थ्यो होला घोषणासभा । तर माघ २३ गते विहान बिर्तामोडको तमू होटलको छतमा गरिएको घोषणासभा निरस थियो । कतिपय विजयी सदस्यहरु नै घरतिर हिडिसकेका थिए । प्रतिनिधिहरु निकै थोरै थिए । दघाटन समारोहमा उपस्थित हजारौं तमूहरुको २ प्रतिशत पनि उपस्थित थिएनन् घोषणा कार्यक्रममा । सम्भवतः एकता र सहमतिमा नेतृत्व चयन गरिएको भए तमूहरुको घोषणासभामा उदघाटनकै रौनक छाउन्थ्यो कि ? यो सभा हेर्दा लाग्थ्यो चुनावले तमूबीचमा एकता होइन तित्तता ल्याइदियो । हार्ने त खुशी हुने कुरै भएन, जित्नेहरु पनि निरास देखिन्थे । यसले आगामी दिन सुनौलो बनाउनेमा पक्कै शंका छ । सहज छैन ।

Note: copy Right from Gurungnews.com